झापा क्षेत्र नं. ५ बाट
एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यका लागि उठ्ने भएपछि उनीविरुद्ध
लड्ने कांग्रेस नेता तत्कालै भेटिएनन् । केही दिनअघि त्यहाँ कांग्रेसले युवा नेता
विश्वप्रकाश शर्मालाई उठाउने चर्चा चल्यो । शर्मा स्वयम्ले पनि पार्टीले आफूलाई
जहाँ पठाउँछ, त्यही उठ्न तयार रहेको बताउँदै आएका थिए ।
बुधबार कांग्रेसको संसदीय समितिको बैठकले शर्मालाई झापा-१ बाट उठाउने निर्णय गरेको छ । ओलीविरुद्ध कसलाई उठाउने भन्ने विषयमा कांग्रेसभित्र निक्कै कसरत भएको थियो । पूर्वसामान्य प्रशासन मन्त्री केशव बुढाथोकीलाई पनि त्यहाँ पठाउन खोजियो । तर, उनी ओलीविरुद्ध उठ्न चाहेनन् ।
त्यसो त ०७० सालमा झापा
क्षेत्र नं. ६ बाट पराजित बनेकी रामकुमारी पौडेललाई पनि ओलीविरुद्ध उठाउने चर्चा
कांग्रेसभित्र चलेको थियो । तर, उनलाई पनि पछि सारियो । अन्ततः केपी ओलीसँग नेपाली
कांग्रेसका तर्फबाट डा. खगेन्द्र अधिकारी चुनावमा भिड्न तयार भएका छन् ।
प्राध्यापन छाडेर
ओलीबिरुद्ध मैदानमा
बुधबार नेपाली
कांग्रेसले झापा क्षेत्र नं. ५ बाट उठाउने निर्णय गर्दै गर्दा डा. अधिकारी
काठमाडौंबाट झापा जाने हतारोमा थिए । त्रिचन्द्र कलेजमा प्राध्यापन गर्दै आएका डा.
अधिकारीले टिकट पाउने लगभग निश्चित भएलगत्तै कलेजमा राजीनामा बुझाइसकेका छन् । र,
टिकट हात पारेलगत्तै साढे १७ वर्षको प्राध्यापन पेशा छाडेर उनी पूर्वप्रधानमन्त्री
ओलीविरुद्ध लड्न झापा छिरेका छन् । विसं. ३१ सालमा झापमा जन्मिएका
४३ वर्षीय डा. अधिकारीले भारतको सौराष्ट्र युनिभर्सिटीबाट
प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन् ।
डा. अधिकारीले
कांग्रेसको राजनीतिक यात्रा भने ०४८ सालदेखि सुरु गरेका हुन् । उनी त्यसवेला
झापाको गौरादह क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष थिए । पछि ०५७
सालदेखि उनले प्राध्यापन पेशा सुरु गरे । उनी अहिले कांग्रेसको महासमिति सदस्य छन्
। यसअघि उनी पार्टीको अनुसन्धान तथा अभिलेखालय विभागको केन्द्रीय सदस्य समेत बनेका
थिए ।
‘सरकारको नोकर थिएँ, अब
जनताको नोकर भएँ’
अधिकारीले
आफ्ना प्रतिद्वन्दी केपी ओलीलाई चाहिँ कसरी हेरेका छन् त ? हामीले यसबारे जान्न
चाह्यौं । वास्तवमा
ओलीसँग उनको दोहोरो चिनजान रहेनछ । ‘शीर्षनेता
हुन् । त्यसमाथि पनि हाम्रै क्षेत्रको उम्मेदवार’, डा. अधिकारीले झापा जाँदाजाँदै
अनलाइनखबरसँग भने, ‘म उहाँलाई चिन्छु, तर, उहाँ मलाई चिन्नुहुन्न ।’ प्राध्यापन पेशा छाडेर चुनावी प्रतिस्पर्धामा उत्रिएका उनले
आफू हिजो सरकारको र आजदेखि जनताको नोकर भएको बताए । ‘पेन्सन पाक्ने बेलाको जागिर छाडेर आफूलाई जनताप्रतिसमर्पित
गराएको छु’, उनले भने, ‘कसलाई स्वीकार्ने, अब जनताका हातमा छ। ’डा. अधिकारीले
आफूलाई जनताको कठघरामा सुम्पिएको बताए । केपी
ओली आफूसँग चुनाव हार्ने अधिकारीले दाबी गरे । विहीबार मनोनयन दर्ताका लागि बुधबार
राति बिराटनगर पुगेका अधिकारीले भने- ‘म पूर्ण आत्मविश्वासका साथ केपी ओलीसँग
चुनाव लड्न गइरहेको छु, मलाई चुनाव जित्नेमा पूर्ण विश्वास छ ।’
झापा क्षेत्र नम्बर ५
बाट कम्युनिष्ट पार्टी छाडेर मानिसहरु धमाधम कांग्रेसमा प्रवेश गरिरहेको र नेपाली
कांग्रेसको पक्षमा लहर आएकाले वाम गठबन्धनले चुनाव हार्ने उनले दाबी गरे ।चुनाव
जितेपछि आफू यस क्षेत्रको विकासमा लाग्ने र कांग्रेसले घोषणापत्रमा उल्लेख गरेका योजनाहरु
कार्यान्वयनमा लागिपर्ने उनले बताए ।

0 comments: