सिग्मण्ड फ्रायड
हैरान थे प्रयाेगशालामा
मनाे तरङ्गका भाव बारे
उनी बहस गरिरहेथे जाेडले
दर्शकहरू नाजवाफ थे,
मन र विज्ञानका सापेक्षतामा
समीक्षकहरूकाे पसिना छुटेथ्याे
कन्चटका राैँहरू तेसै तेसै उठेथ्याे
तिनकाे चाेटिलाे विमर्शका बीच ।
बहसकाे मुख्य मुद्दा थियाे त्यहाँ,-
"नाग र निधारका प्रश्नहरू बारे !"
अनादि कालदेखिका नागहरू
हरेक देवहरूसँग सँलयित थिए
देवीहरूकाे निधारमा नाग थिएनन्
नागहरू देवीसँग पनि त थिएनन्
तर पनि उहिले नाग र निधार बस्थे
सँगै थे शालीन मुद्राका प्रतिमाहरूसँग ।
मन र निधार
अनि नाग र स्वभाव
फरक थे सधैे, रहन्थे छुट्टै
बेला बेलामा जुरूक जुरूक !
उठ्थे सबका ललाटहरूमा,
मसिना धर्साहरू कचल कचल,
र, झट्कारिन्थे अावेगमा झडङ,
फट्किन्थे जिब्राेका चर्चर त्यसै ।
तिनकाे जीवनका धराेहरमा
तिनका शान थिए निधारहरू
फ्रायडकाे परिक्षण असफल थ्याे
चेतन र अवचेतन मनकाे बहावमा
सुसाइ सुसाइ फैलिन्थ्याे तेतिबेला
प्रतिवेगमा रिसका फणासँग निधार ।
निधारका अनन्त पराग शैलीलाई
राेपिरहन्थे, नागबेलीमा अमन चक्मा
र छाेपिरहन्थे, कुण्ठाकाे अबल अधर ।
म जिज्ञासा राख्दथेँ बारम्बार
नाग र निधारका सहयात्राहरूका,
म उत्तर खाेजिरहेथेँ मनाेविज्ञानसँग
नाग र मनाेविज्ञानकाे अपसाेंच बारे !
अर्कातिर निधारमा नाग झैं मानिसमा,
उठ्ने रिसका अाबेगहरू बारे पनि !!
नाग र निधार बैदिक थे सायद
निधार र मन बाैध्दिक थे फ्रायड
नाग झैं उठ्ने रिसकाे अावेग बारे
सत्य कथाहरूसँग अलमल गर्थे ।
म नजिकै रहेकि मेरी बहिनीले
अाज अकस्मात अाफ्नाेे निधारमा
नागकाे चित्रांकित टिका लगाइन
नाग ठडिन्थ्याे र शत्रुलाई खाेज्दथ्याे
एक अापसमा तरङ्गित थे तेत्तिकै ।
सायद ती नाग थिएनन्, नागिन थे
बराेबर डसिरहन्थे मन, मस्तिष्कमा
दुनियाँ हराइरहेथ्याे समय समयबीच
कहिले राेएर, कहिले हाँसेर ।
फ्रायड अझै व्युँतिन्थे
निधारका अाँगनमा !
हातले सुम्मसुम्याइन्थे
मानिसकाे अजीब रूपलाई
खाेजिरहेथे तिनकाे मनाेदशा !
~डा.विदुर चालिसे

0 comments: