नयाँ शक्ति इलामले उम्मेदवार छनौट गर्‍यो

 नयाँ शक्ति पार्टीले स्थानीय तहको दोस्रो चरणको चुनावका लागि इलाम जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाहरुमा उम्मेदवार छानेको छ । जिल्लाका देउमाई नगरपालिका सहित चुलाचुली, रोङ र फाकफोकथुम गाउँपालिकामा उम्मेदवार छानिसकेको इलाम जिल्ला संयोजक डिल्ली चेम्जोङले जानकारी दिए ।चेम्जोङका अनुसार देउमाई नगरपालिकामा प्रेम राईलाई मेयर उम्मेद्वारका रूपमा अघि सारिएको छ । त्यस्तै चुलाचुली गाउँपालिका अध्यक्षमा कुमार विश्वकर्मा, रोङ गाउँपालिका अध्यक्षमा केशव लुइँटेल र फाकफोकथुम गाउँपालिका अध्यक्षमा सुरेन्द्र सुब्बालाई अघि सारिएको छ ।बाँकी सूर्याेदय, इलाम र माई नगरपालिका तथा माईजोगमाई गाउँपालिका, माङसेबुङ गाउँपालिका र सन्दकपुर गाउँपालिकामा भने नयाँ शक्ति र संघीय समाजवादी फोरमको संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार चयन गरिने संयोजक चेम्जोङले जानकारी दिए । त्यसका लागि संघीय समाजवादी फोरमसँग छलफल भइरहेको पनि चेम्जोङले जानकारी गराए ।उम्मेदवार छनौट गरिसकिएका नगरपालिका तथा गाउँपालिकाहरूमा घरदैलो तथा चुनावी कार्यक्रम सहित प्रचारप्रसार अभियान समेत सञ्चालन भइरहेको चेम्जोङले जानकारी दिए  । ४ नगरपालिका र ६ गाउँपालिका रहेको इलामको कूल मतदाता संख्या एक लाख ८९ हजार दुई सय ७४ रहेको जिल्ला निर्वाचन कार्यालय ईलामको तथ्याङ्कमा उल्लेख छ ।

श्रोत - नयाँ बुलन्द डट कम 


सेयर गर्नुस्