पहिलो चरणमा हुन गइरहेको प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २ सय ८३ गाउँपालिका/नगरपालिकाका विभिन्न पदमा ३ सय १६ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन आयोगका अनुसार केही स्थानमा वैशाख १९ गते भएको मनोनयन दर्ताकै दिन केही पद निर्विरोध निर्वाचित भएको थियो । वैशाख २१ को उम्मेदवारी फिर्तापछि निर्विरोध हुनेको संख्या थपिएको हो । आयोगका सचिव गोपीनाथ मैनालीका अनुसार डोल्पाको शे–फोक्सुन्डो र मनाङको नार्फु गाउँपालिकाका सबै पदमा निर्विरोध चुनिए । शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका टसी तुन्डुप गुरुङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार धावा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन कार्यालय डोल्पाका प्रमुख रामबहादुर बुढाले उक्त गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष ९ वटा वडाका वडाध्यक्ष र सदस्यहरूसहित ४७ वटै पद निर्विरोध भएको कान्तिपुरलाई जानकारी दिए ।