भुमध्य रेखा मा कित्ताकट

भूमध्यरेखामा कित्ताकाट
*******************
यो सिकिस्त आकाशबाट
समय लडेर
मनका साँगुरा कुलेसाहरूमा
आँसु बगिरहँदा
अपरिचित बादलका डिहीहरूबाट
किन रसाइरहन्छन्
तिम्रो बस्तीका बलेसीसम्म ?
यो धर्तीका अन्तिम खुशीहरू !

...................

नुन अर्कैलाई बेचेर
गलिरहेको - यो विलिनो पहाडमा
भोकले लोलाएका सानीकान्छीहरूको
जोवनका भीरफूलहरूमा
किन सलबलाउँछ - यो गवारो ?
र सुत्ले मकैका घोगाजस्तै उमङ्गहरू
किन पोटाइरहन्छन्
तिम्रो भूगोलका हरितगृहहरूमा ?
...................

मनको मजेत्रो च्यातिएर
सपना सबै नाङ्गिएपछि
एक्लै आँखा छोपी रोइरहेको गाउँमा
किन चिसिन्छन्
देश–प्रेमका तीनमुखे चुलाहरू ?
किन फुट्छन्
विश्वासका पेटारी बयामहरू ?
र किन चुँडिन्छन्
मदानीका सारा आदिबाशी नेतीहरू ?
.....................

हरियो लग्गीको टुप्पामा
भीमदत्तको आलो टाउको उनेर
यी नीलगिरिका शिरहरूमा पहिरो नचाउँदै
किन आउँछ
यो रैथाने आतङ्क घरीघरी ?
र चर्काएर जान्छ - मेरो बाँसुरी मन !
....................

ए कटुवालदाइ !
खै किन तर्न सकेनौं हामीले
भीरजस्तै जिन्दगीका तुइनहरू ?
खै कुन खोरियामा धाँजा फाटिरहेछ
झोडेनी ठूलीले पिरती लाएको - तन्नेरी मङ्सिर ?
खै कहाँ छन् आज
उत्तरघरे बाबैले - जमरा सिउरिदिएका दशैँहरू ?
...................

भन न ए डफेदारदाइ !
कुन केचनामा धमिलिरहेछ
डण्ड्रा मामुले बगाएको - पसिनाको सुगन्ध ?
कुन खोरमा थुनिएको छ
जमदार काकाले तान्न नभ्याएको - सपनाको बिँडी ?
र कुन झरनामा जमिरहेछ
दैया दिदीले आधा गाएको - गीतको बाँकी भाग ?
...................

इतिहासको कुर्कुच्चाले कुल्चिएको
हर्की नानाको किराँती अनुहारमा
यो देशको मानचित्र
यदि तिमी भेट्दैनौ भने
जरुरी छैन पारुहाङलाई
“श्रीमान् गम्भीर नेपाली...” लोरी गाइरहन !
...................

पुटुरसँगै,
दूध चुसाएर हुर्काएको
मेखे बङ्गुरको छक्कड बुच्चो
र भरत शर्माको हस्ताक्षर टाँसिएको
आफूभन्दा निरक्षर नागरिकता
गुदुनी चमारले बजारमा तौलिन् भने
खै कुनमा - मूल्यको घनत्व बढी हुँदो हो ?
....................

ओ चौतारियाहरू हो !
यो भुइँमा अन्तिमपटक
बुदनासिंह थारुले
मोहियानी हक दाबी गर्यो भने
यो पृथ्वीको भूमध्यरेखामा
खै कहाँनेर - कित्ताकाट गर्नुपर्ने हो ??
.....................
२०४८ चैत्र २०
प्रथा

सेयर गर्नुस्