साझा पार्टी को काठमाण्डौ मेयर मा निरुपमा यादब


भर्खरै स्थापित साझा पार्टीको केन्द्रीय संयोजन समितिकी सदस्य तथा अधिवक्ता निरूपमा यादव काठमाण्डू महानगरपालिकाको उप-मेयरका लागि स्वतन्त्र उमेदवारी दिन निर्णय गरेकी छिन्।


सप्तरीमा जन्मिएकी, बाँकेमा हुर्किएकी, मोरङ्गसँग वैवाहिक सम्बन्ध जोडिएकी र काठमाडौँलाई कार्यथलो बनाएकी कामनपा वडा नम्बर १४ निवासी, ३९ वर्षीय युवा नेतृ यादवले देशको राजधानीको उप-मेयरका लागि साझा पार्टीको समर्थनमा उमेदवारी दिनुलाई साझा पार्टीले तराई र काठमाडौँलाई भावनात्मकरूपमा बलियोसँग बाँध्ने एउटा नयाँ आयामको रूपमा हेरेको छ। १७ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी यादव ३ जना सन्तानकी आमा हुन्।

गत १५ वर्षदेखि अधिवक्ताको रूपमा कार्यरत यादवले शान्ति सम्झौता उच्चस्तरिय अनुगमन समितिकी सदस्य, मेलमिलाप परिषदकी सदस्य, सामाजिक समावेशीता विज्ञ, मानव अधिकारकर्मी तथा विभिन्न संस्थामा कानुनी परामर्शदाताको रूपमा पनि काम गरेकी छिन्।

महानगरको क्षेत्राधिकारभित्रका विवादको निरूपण गर्न उपमेयरको संयोजकत्वमा न्यायिक समिति गठन हुने संवैधानिक व्यवस्था छ। मेलमिलाप र न्यायिक कार्यलाई प्रभावकारीरूपमा सम्पादन गर्नुपर्ने गहन कानुनी जिम्मेवारी जोडिएको उप-मेयरको पद आफ्ना लागि अनुकूल भएको र मेयर पदका लागि साझा पार्टीकै समर्थनमा किशोर थापाजस्ता इमान्दार, अनुभवि र सक्षम व्यक्तित्वले उमेदवारी दिएकोले आफू आफ्नो उमेदवारीका बारे अत्यन्तै उत्साहित भएको यादवले बताएकी छिन्।

उनी भन्छिन्, “किशोर थापाजस्तो शहरी विकास विज्ञसँग काम गरेर काठमाडौँ ‘सफा, सुरक्षित र सबैका लागि’ बस्न योग्य र विगतमा झैँ सन्सारमैं गर्व गर्न योग्य सहरका रूपमा रूपान्तरण गर्ने मेरो लक्ष्य रहेको छ।”

साझा पार्टीले १० दिनअघि नै मेयरको पदको लागि आफ्नो समर्थनमा किशोर थापाले उमेदवारी दिन लागेको घोषणा गरे पनि उप-मेयरका लागि सहकार्यको संभवनालाई मध्यनजर गर्दै पार्टी राजनीतिक संवादमा संलग्न थियो। तर त्यो सम्भावना टरेपछि समयको चापका कारण पार्टीले थप समय नखर्चने निर्णय लिएको हो।

अबको मेयर तथा उप-मेयरले शहरी योजना र व्यवस्थापनका विविध क्षेत्रमा लिने निर्णयले यहाँका वासिन्दाको जीवनको गुणस्तर र काठमाण्डौं महानगरको भविष्य निर्धारण गर्नेछ। यो वास्तविकतालाई सम्मान गर्दै काठमाण्डू महानगरपालिकाको उप-मेयरका लागि निरूपमा यादव हरेक हिसावले उपयुक्त उमेदवार हुन् भन्ने हाम्रो ठम्याइ हो।

यादवको उमेदवारीको समर्थनका लागि साझा पार्टी काठमाण्डौं महानगरवासीमा हार्दिक अपिल गर्दछ।



सेयर गर्नुस्