अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको

निर्वाचन आयोगले अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएको छ । सोमबार आयोगले अगामी स्थानीय निर्वाचनको तयारीबारे गरेको नियमित पत्रकार सम्मेलनमा अबको मतपत्रमा निर्वाचन चिन्ह हरियो रङको हुने बताएका हुन् । पहिलेको पत्र नीलो रातो हुँदा स्वस्तिक छाप पनि नीलो हुने भएकाले गणना गर्दा स्पष्ट नभएपछि चिन्ह हरियो बनाइएको आयोगले जनाएको छ ।पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचनसम्बन्धी छपाइ सामग्रीहरु निर्वाचन प्रचारप्रसार सामग्री, निर्देशिका, फारम आदि छपाइका लागि छापाखानाहरु र सामग्री ढुवानी व्यवस्थापनका लागि हेलिकप्टर, ट्रक तथा कुरियर सेवा लिन सम्बन्धित फर्म संस्थाहरु सूचीकृतका लागि सार्वजनिक सूचना गरिएको पनि जानकारी दिए । उनले मतदाता नामावली अद्यावधिक दाबी विरोधको समेत कार्यक्रम २०७८ अन्तर्गत मतदाता नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै पनि मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र निवेदन दिन आग्रह गर्ने र मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने तथा उजुरी परेको मतदातालाई प्रमाणसहित सफाइको मौका दिने निर्णय भएको पनि बताए । आगामी वर्ष २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले धमाधम तयारी गरिरहेको छ ।

सेयर गर्नुस्

0 comments: