अस्ट्रेलिया — यहाँको सत्तारुढ दल लिबरलले नेपाली युवा प्रमेज श्रेष्ठलाई
संसद्मा उम्मेदवार बनाउने निर्णय गरेको छ । न्यु साउथ वेल्सको लिबरल
पार्टीले उनलाई सिड्नीको बार्टन निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा चयन
गरेको हो ।अस्ट्रेलियामा यही मे १८ मा संसदीय निर्वाचन हुँदैछ । निर्वाचनमा उनले
लेबरकी नेतृ लिण्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाईटेड
अस्ट्रेलियाका बेन ल्यु लगायतकासँग प्रतिस्पर्धा गर्नेछन् । यस निर्वाचन
क्षेत्रले सिड्नीमा नेपालीहरुको सबैभन्दा धेरै बसोबास रहेका क्षेत्रहरु
मानिने रकडेल, टेम्पे, वलाईक्रिक, कोग्राहा, हस्ट्रभिल, म्यारिकभिल लगायतका
स्थानहरु समेट्छ । श्रेष्ठ अस्ट्रेलियामा रहेका नेपालीहरुको लिबरल पार्टी
सम्बद्ध लिबरल फ्रेण्डस् अफ नेपालको युवा संयोजकसमेत हुन् । सत्तारुढ दलले
नेपालीलाई संसद्को उम्मेदवारमा सिफारिस गरेको यो पहिलो अवसर हो । १ लाख ७ हजार मतदाता रहेको उक्त क्षेत्रमा विपक्षी दल लेबरले अधिकांश
निर्वाचनमा जित हासिल गरेको भए पनि लिबरलको समेत राम्रो पकड रहेको
क्षेत्रका रुपमा चिनिन्छ । सो निर्वाचन क्षेत्रमा सन् २०१३ मा भएको
निर्वाचनमा लिबरलका निकोलास भारभारिसले जित हासिल गरेका थिए भने अघिल्लो
निर्वाचनमा लेबरकी नेतृ लिण्डा बर्नि निर्वाचित छिन् । श्रेष्ठले अधिकांश
युवाहरुको भोट तान्न सक्ने अनुमान लगाइएको छ ।
'यो मेरो
लागि मात्र नभएर अस्ट्रेलियामा रहेका दोस्रो पुस्ताका नेपालीहरुलाई समेत
अघि बढ्न प्रेरित गर्ने अवसर हो ।' सांसद्का उम्मेदवार बनेपछि उनले
कान्तिपुरसँग भने । उनले अस्ट्रेलिया र अस्ट्रेलियाली मात्र नभएर नेपाली
तथा नेपालले गर्व गर्नयोग्य काम गर्ने सुनाए । उनले आफ्नो चुनावी अभियान
सुरु गरिसकेको समेत जानकारी दिए ।
0 comments: