६ सय घण्टा उडेका थिए कोपाइलट सुजीत

दुर्घटना ग्रस्त बिमान
 लुक्ला विमानस्थलबाट आइतबार बिहान उडान गर्ने क्रममा दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुजीत लामा ढुंगानाले समिट एयरकै जहाज ६ सय घण्टा भन्दा बढी उडाइसकेका थिए। 
रामेछापबाट लुक्ला पुगेका यात्रु ओरालेर रामेछाप नै फर्कन लाग्दा जहाज रनवेमा चिप्लिएर दुर्घटना भएको थियो। जहाज पार्किङ गरिरहेको श्री र मनाङ एयरको हेलिकोप्टरमाा ठोक्किन पुगेको थियो। दुर्घटनामा तीन जनाले ज्यान गुमाएका छन्। 
गोमा एयरमा नयाँ व्यवस्थापन भित्रिएपछि समिट भएको यो वायुसेवामा ढुंगानाले २०७३ फागुन १ गतेदेखि कोपाइलटको रुपमा उडान सुरु गरेका थिए। पाइलटको तालिमपछि उनको उडान नै समिट एयरको जहाजबाट सुरु भएको थियो। 
२०४२ साल साउन १० गते जन्मिएका ढुंगाना काठमाडौं चावहिलमा बसोबास गर्दै आएका थिए। उनी फिलिपिन्सबाट पाइलट अध्ययन सकेर नेपाल फर्किएका थिए। 
उनी तीन महिना अगाडि मात्रै पाइलको सिमुलेटर तालिमका लागि चेकोस्लोभाकियाबाट फर्किएको समिट एयरका अपरेसन प्रबन्धक सागर आचार्यले जानकारी दिए। ‘ढुंगानाले १६ जनावरी २०१९ मा लिएको यो तालिम मल्टी क्रु कोअर्डिनेसनसहितको थियो’, आचार्यले भने।  
कम बोल्ने, निकै मिलनसार र निष्ठावान सुजीत नामको पछाडि लामा र ढुंगाना दुबै थर प्रयोग गर्ने गरेका छन्। बाबुले अन्तरजातीय विवाह गरेका कारण उनले आमाको पहिचानसँग जोडेर लामा थरलाई पनि प्रयोग गर्ने गर्थे। सुजीतलाई उनकी आमा ल्हेमी लामाले हुर्काएकी हुन्। स्वास्थ्य सेविका ल्हेमी सोलुखुम्बु बस्छिन्। 
आइतबार बिहान रामेछापबाट लुक्ला उडान क्रममा भएको यो दुर्घटनामा दुई सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन्। जहाजका क्याप्टेन रविन्द्र्रबहादुर रोकाय भने घाइते मात्रै भएका छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ। जहाजकी एयर होस्टेज गोंगबुकी रश्मी लामा सामान्य घाइते छन्। 
समिटको १९ सिट क्षमताको एउटै जहाजले लुक्लामा दैनिक १० वटा उडान गर्दै आएको थियो। काठमाडौं विमानस्थलको धावनमार्ग मर्मत भइरहेकाले समिट एयरले रामेछापबाट उडान गर्न थालेको थियो। समिटसँग चार वटा जहाज छन्। एउटा दुर्घटनमा परेकाले यो कम्पनीको आइतबारको सबै उडान रद्द गरेको छ।

सेयर गर्नुस्

0 comments: