नारि र नारि दिवस

म गरिब हुँ
 गोमा सिटौला 
म टुहुरी हुँ
त्यसैले 
म समाजकी बोक्सी हुँ
कहिले,घामसँगै पग्लेर
मुसलधारे पानीसँग भिजेर
गिट्टी झैँ कुटिएर

लखतरान भोको शरीर
जुनको शीतलतामा निदाउन खोज्दा
मध्यरातमा ममाथी ढुङ्गा बर्षाइन्छ
मलमूत्र खुवाइन्छ
कसैको ढाड दुख्यो
कसको गाइले दूध नदिएको आरोपमा
मलाई निर्वस्त्र पारेर कुटेर
मेरो रगतको होली खेलेर
मेरो चिताको खरानीको
चन्दन घस्ने धुन्धुकारीलाई
देवता मानेर पुजिन्छ
मेरो अस्मितामा आँखा गाडेका
गिद्धहरूको भोक मेटाउन नसक्दा
गलेर बिरामी भएको बेला
मालिक्नीको फरिया पछार्न नसक्दा
रातरातै मेरो नाम बदलियो
किनभने
म अशिक्षित थिएँ
माइती कमजोर थियो
दाइजोको कारणले
सासुससुराले लत्याएका थिए
म सुत्केरी हुँदा
लोग्नेको यौनप्यास नमेटाउँदा
बर्सेनि छोरी पाएको आरोपमा
सौता हालेर निकालेका थिए
समस्याको कुइरोभित्र
खुला आकाशमुनि
जिम्मेवारीको भार बोकेर
कोपिला हुर्काउदै थिएँ
नफुल्दै कौमार्य
क्षतबिक्षत बनाइदिए
छोरा र लोग्नेको कर्तुत लुकाउन
सभ्य भनाउँदा नारीले
न्वारान गरेर मलाई
बोक्सी उपनाम भिडाइदिए
यातनामा रोइरहेँ
पीडामा चिच्चाइरहेँ
तापमा छटपटाइरहेँ
कानमा कपास कोचेर
समाजले रमिता हेरिरह्यो
र नारी दिवसमा
शहरको तारे होटलमा
मदिराको सुरमा भाषण भैरह्यो
गल्ली र चोकमा
नारी हक र अधिकारको नारा घन्किरह्यो
न्याय नपाएर मैले नारी दिवसको दिन
बोक्सीको आरोपमा धरा छोड्नुपर्यो।


सेयर गर्नुस्

0 comments: