कमल गाउँपालिका ५ लखनपुरमा प्रस्तावित रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाइदिन कोरियाली सरकारले इच्छा देखाएको छ । दमक औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गोविन्द थापाका अनुसार कोरिया सरकारले उक्त रंगशालालाई ‘मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशाला’ को नाममा लगानी गर्ने इच्छा देखाएको हो ।
उनका अनुसार रंगशाला बनाउने विषयमा पछिल्लो डेढ वर्षमा कोरिया सरकारको तर्फबाट विभिन्न टोलीले छपल्ट स्थलगत अध्ययन र अवलोकन गरिसकेको छ । पछिल्लोपल्ट आइतबार कोरिया सरकारको तीन सदस्यीय टोलीले रंगशालाको स्थलगत अवलोकन गरेको थियो ।
टोलीले आइतबारै दमकमा स्थानीय सरोकारवालासँग बैठक गरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन आवश्यक पर्ने सबै लगानी गर्न आफूहरू तयार रहेको जानकारी दिएको थियो । थापाका अनुसार योङ सिकजीयुको नेतृत्वमा गिलहो समसहित तीन जनाको कोरियाली टोली झापा आएको थियो ।
टोलीले रंगशालाको अवलोकनका क्रममा विद्युतको हाइटेन्सन लाइनलाई भूमिगत गर्नुपर्ने, रंगशाला प्रवेशद्वार पूर्वतिर बनाउनुपर्ने लगायत विषयमा अध्ययन गरेको थियो । टोलीले अन्तर्राष्ट्रिय रंगशालाको ३५ किलोमिटर क्षेत्रमा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक पर्ने जानकारी गराएको थापाले बताए ।
टोलीले सरोकारवालासँगको बैठकमा रंगशालालाई बनाउन खोजेको डिजाइनको नक्सा समेत देखाएको थियो । कोरियाली टोलीले सन् २००२ मा विश्वकप फुटबल खेलाएको कोरियन रंगशालाकै डिजाइनअनुसार लखनपुरको रंगशाला बनाउन खोजेको धु्रवतारा स्पोर्टिङ क्लबका अध्यक्ष भीमराज केसीले बताए ।
लखनपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने विषयमा कोरियाली टोलीले आइतबार ध्रुवतारा स्पोर्टिङ, दमक जेसिज, पूर्व खेलाडीहरू, दमक नगर खेलकुद परिषद् र कमल गाउँ खेलकुद परिषदा पदाधिकारीसँग छलफल गरेको हो । बैठकमा कोरियाली टोलीले आफूहरू रंगशाला बनाउन सबै हिसाबले तयार रहेको बताएको केसीले सुनाए ।
किराँत समुदायको समाधिस्थल रहेको उक्त स्थानमा २०६६ सालदेखि रंगशाला निर्माण प्रक्रिया सुरु भएको थियो । सशस्त्र प्रहरी बल पाथीभरा गणका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक गणेश ठाडामगरको नेतृत्वमा रंगशाला निर्माणको प्रक्रिया सुरु भएको हो । रंगशाला निर्माणका लागि त्यहाँ ७ सय ४५ चिहान उत्खनन गरिएको थियो ।
नामकरणमा विवाद
उनीहरूले रंगशालाको नाम ‘आदिवासी रंगशाला’ भनी नामकरण गरेका थिए । तर, ०७२ सालमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त रंगशालाको नाम ‘मदन भण्डारी’ रहने उद्घोष गरेको थियो । स्थानीयले आदिवासी र सरकारले मदन भण्डारी नामकरण गरेपछि रंगशाला विवादित बनेको थियो ।
त्यसै बखतदेखि प्रतिष्ठान र एमालेको परस्पर विरोधी अडानका कारण बजेट विनियोजन भए पनि रंगशाला निर्माणको काम हुन सकेको छैन । विवाद समाधान गर्ने तथा रंगशाला निर्माणमा कुनै पहल नहुँदा रंगशाला अहिले गौचरन बनेको छ । रंगशालाका लागि करिब ३५ बिघा जमिन रहेको प्रतिष्ठानले जनाएको छ ।
कमल गाउँ खेलकुद परिषद् सदस्य भुवन थेवेले रंगशाला निर्माणका लागि कोरियाबाट आएको टोलीले आफूहरूसंग छलफल गरेको बताए । उनले लखनपुरमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने योजना गौरवपूर्ण भएको प्रतिक्रिया दिए ।
उनले नामको विवादले यति ठूलो योजना आउनबाट रोक्न नहुने तर्क गरे । उनले भने, ‘यहाँ अन्तर्राष्ट्रिय रंगशाला बन्यो भने देशकै ठूलो रंगशाला बन्नेछ । खेल क्षेत्रसँगै स्थानीय क्षेत्रको विकासमा पनि यसले ठूलो र महत्त्वपूर्ण योगदान दिनेछ ।’
ध्रुवतारा स्पोर्टिङका अध्यक्ष केसीले पनि कोरिया सरकारको प्रवेशलाई अवसरका रूपमा लिनुपर्ने धारणा राखे । उनले भने, ‘नामको विवाद जसरी पनि मिलाउनुपर्छ । लखनपुरमा आउन लागेको यति ठूलो योजना फर्काउनु हुँदैन र अन्तर्राष्ट्रिय रंगशाला बनाउनुपर्छ ।’ उनले आफ्नो गाउँ ठाउँको चौतर्फी विकासमा सहयोग पुग्ने गरी योजना विवादमा नपारी सहयोग गरिदिन आग्रह पनि गरे ।
तर, प्रतिष्ठानका अध्यक्ष नित्यानन्द ताजपुरियाले आदिवासी रंगशाला ‘मदन भण्डारी’ को नामबाट बनाउन नदिने धारणा राखे । उनले आदिवासी जनजातिको चिहान उत्खनन् गरेर रंगशाला बनाउन लागिएकाले आदिवासीको पहिचान समाप्त हुने काम गर्न नदिने बताए । ‘हाम्रो पहिचान मेटाएर रंगशाला बनाउन सकिँदैन,’ उनले भने, ‘हामी कुनै हालतमा त्यहाँ मदन भण्डारीको नाममा रंगशाला बनाउन दिँदैनौं ।’ उनले आदिवासीकै नाममा रंगशाला बनाउँदा राज्यलाई के आपत्ति भनी प्रश्नसमेत गरे ।
‘सरकारले वा कोरियाले जसले लगानी गरे पनि आदिवासीको नाममा रंगशाला बनाउँदा के फरक पर्छ ?,’ ताजपुरियाले प्रश्न गरे । थापाले भने रंगशाला निर्माणलाई अलपत्र नबनाउन सुझाव दिए । कोरियाली टोलीले फुटबल, क्रिकेट, भलिबल, पौडी पोखरी, कभर्डहलसहित सुविधासम्पन्न रंगशाला निर्माण गर्ने प्रस्ताव राखेको थापाले बताए ।

0 comments: