विराटनगर — प्रदेश १ को सभामा एमालेको संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा उनी २६ मत प्राप्त गरी बिजयी बनेका हुन् । प्रतिस्पर्धी प्रदेश
इन्चार्ज भीम आचार्यले २४ मत प्राप्त गरे । कुल ५१ मतमध्ये एक मत बदर भएको थियो ।
राई पोलिटब्यूरो सदस्य तथा प्रदेशका सहइन्चार्ज हुन् । उनी भोजपुर ‘ख’ वाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
मुख्य मन्त्रीको दौडमा रहेका केन्द्रीय सदस्य जीवन घिमिरेले भने मनोनयन दर्ता गराएनन् । आचार्य एमाले बरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन् भने राई अध्यक्ष केपी ओलीनजिकका हुन् । एमाले स्थायी समितिको बैठकले मुख्य मन्त्रीको टुंगो लगाउने अधिकार संसदीय दललाई दिइएको थियो । एमाले संसदीय दलमा नेपाल पक्षको बहुमत छ ।
प्रदेश नम्बर १ मा पर्ने १४ जिल्लाका प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७ सिट गरी ९३ सिट संख्या छ । यो प्रदेशमा एमालेका ५१, माओवादी केन्द्रले १५, कांग्रेस २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र १, राप्रपा १ र संघीय लोकतान्त्रिक मञ्चको १ सिट छ ।
बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ फागुन ११ गते भोजपुरको आमचोक गाउँपालिका ३ मा जन्मेका शेरधन राई सानै उमेरबाट राजनीतिमा लागेका हुन् । गृहजिल्लाबाटै स्नातक गरेका राईले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । २०४४ सालवाट अखिलको राजनीति हुँदै उनी पोलिटब्युरो सदस्य बनेका हुन् । अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजकसम्म बनेका थिए ।
२०४७ सालमा एमालेको संगठित सदस्य बनेका राई ०४९ बाट पार्टीको सक्रिय राजनीतिमा लागेका हुन् । चार कार्य कालसम्म भोजपुर जिल्ला कमिटीको नेतृत्व गरेका राई केन्द्रीय सदस्य हुँदै २०७० सालमा पार्टीको पोलिटब्यूरो सदस्य बनेका हुन् ।
२०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो उम्मेदवारको रुपमा संसद पसेका हुन् । त्यस बेला उनको उमेर २७ बर्ष थियो । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा राई दोस्रो पटक संसद बने । दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापति भएका थिए । सरकारको प्रवक्ता समेत बनेका राई केपी ओलीको नेतृत्वको सरकारमा सुचना तथा सञ्चार मन्त्री थिए ।
संसदीय दलको नेता चयन भएपछि राईले ढिलोमा फागुन २ गतेभित्र सरकार गठन भइसक्ने बताए । ‘सरकार गठनको प्रकृया सुरु भयो,’ उनले भने, ‘विलम्ब नगरी सरकार गठन गर्छौ ।’ राईले आफ्नो नेतृत्वमा बन्ने सरकारको पहिलो प्राथमिकता भ्रष्टाचारमुक्त प्रदेश रहेको वताए । ‘सुशासन र भ्रष्टाचारमुक्त प्रदेश हाम्रो प्राथमिकतामा रहन्छ,’ ‘यो प्रदेशमा भएका साधन र स्रोतको उच्चतम प्रयोग गर्दै १ नम्बर प्रदेशलाई साँच्चै नमुना प्रदेश बनाउँछौं ।’ छ ।

0 comments: