प्रतिनिधिसभा चुनावका लागि इलाममा एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र कांग्रेस नेता तथा पूर्व जलश्रोत राज्यमन्त्री बेनुपराज प्रसाई चुनावी मैदानमा उत्रिदैछन् ।
दुईवटा निर्वाचन क्षेत्र रहेको इलाममा क्षेत्र नम्बर १ बाट खनाल र प्रसाई चुनाव लड्ने चर्चा छ । क्षेत्र नं. १ बाट पूर्वप्रधानमन्त्री खनाल ४ पटक विजयी भइसकेका छन् । खनाललाई पूर्व जलस्रोत राज्यमन्त्री प्रसाईले २०५६ सालको चुनावमा पछि पार्दै विजयी भएका थिए ।
एमाले नेता खनाल जिल्लाबाट सर्वसम्मत सिफारिस भइसकेका छन् । उनी सर्वसम्मत भएपछि कांग्रेसमा पूर्व जलश्रोत राज्यमन्त्री प्रसाईको नाम चर्चामा चुलिएको छ । नेता प्रसाईसँगै कांग्रेसका आकांक्षी धेरै छन् । खनाललाई चुनौती दिन प्रसाईसहित कांग्रेसका पूर्वक्षेत्रीय सभापति भूपेन्द्र कट्टेल, महासमिति सदस्य भेषराज आचार्य , पूर्व सांसद केशव थापाको नाम पनि जोडिएका छन् । आंकाक्षी धेरै भएकाले कांग्रेसले अझै उम्मेदवारी टुङ्गाइ सकेको छैन ।
नेता खनाल पाँचौंपटक इलामबाट प्रतिनिधिसभाका लागि जनप्रतिनिधि बन्ने दौडमा छन् । वाम गठबन्धनले नेता खनाललाई राहत मिल्ने भएको छ । यता पार्टीका धेरैले प्रसाईलाई बलियो प्रतिस्पर्धीका रुपमा लिएका छन् ।
एमाले इलामलाई वाम गठबन्धनबाट राहत
एमालेलाई इलाममा वाम गठबन्धनले राहत मिलेको छ । जिल्लामा लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरुको तुलनामा वाम गठबन्धनमा रहेका दलहरुको मत बढी भएकाले गठबन्धनले एमालेलाई राहत मिल्ने देखिन्छ । आउदो चुनावमा एमाले नेता खनालले लड्ने क्षेत्र नम्बर १ मा ३ गाउँपालिका र २ नगरपालिका छन् । यी ५ तहमा एउटा गाउँपालिकामा मात्र कांग्रेस अगाडि छ । अन्य ४ तहमा एमालेको मत बढी छ । गएको स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मतलाई आधार मान्दा रोङ्ग गाउँपालिकामा मात्र एमाले कांग्रेस भन्दा कमजोर देखिएको छ । ६ वटा वडा रहेको रोङ्ग गाउँपालिकामा कांग्रेसले तीन हजार ८८८ मत प्राप्त गरेको थियो । एमालेको भने तीन हजार ६३४ मत आएको थियो ।
एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धन बनेपछि रोङ्गमा केन्द्रको मत पनि एमालेलाई जान्छ । केन्द्रले रोङ्गमा ८०५ मत प्राप्त गरेको छ । एमाले र केन्द्रको गरी जम्मा चार हजार ४३९ मत एमालेको हुन्छ । रोङ्गमा राप्रपाले १६१ मत, संघिय समाजवादी फोरमले ६५ मत प्राप्त गरेको थियो । यी मत कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा जादाँ चार हजार ११४ मत कांग्रेसको हुन्छ । यसरी मतान्तरलाई हेर्दा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धन ३२५ मतले बलियो देखिन्छ ।
निर्वाचन क्षेत्र नं. १ मा पर्ने २ वटा नगरपालिकामा १० वटा वडा रहेको माइनगरपालिका र १४ वटा वडा रहेको सूर्योदय नगरपालिका, २ वटा गाउँपालिकामा ५ वटा वडा रहेको सन्दकपुर गाउँपालिका , ६ वटा वडा रहेको माइजोगमाई गाउँपालिकामा कांग्रेसले पाएकोे मत तुलनामा एमालेकै मत बढी देखिन्छ । क्षेत्र नम्बर १ मा एमालेको ३० हजार १६५, कांग्रेसको २३ हजार ५७८, माओवादी केन्द्रको पाँच हजार २२८ मत छ । यस्तै राप्रपाको एक हजार ३९ र संघीय समाजवादी फोरमको तीन हजार २२७ मत छ । माओवादी केन्द्रको पाँच हजार २२८ मत एमालेमा जोडिदा ३५ हजार ३९३ मत हुन्छ । राप्रपा र फोरमको मत कांग्रेसमा थपिँदा २७ हजार ८४४ मत हुन्छ । वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा आठ हजार ४५१ मतान्तरले अगाडि देखिन्छ ।
निर्णायक बन्छ थपिएका मतदाता
इलाममा १४ हजार सात सय ७२ मतदाता थपिएका छन् । अबको चुनावमा थपिएका मतदाता क्षेत्रीय पार्टीमा आस्था राख्नेहरुको भूमिका निर्णायक हुन्छ । यसमा पनि गठबन्धन गरेका दलका मतदाता चलायमान हुने सम्भावना पनि उत्तिकै हुन्छ ।
क्षेत्र नम्बर १ मा पर्ने ५ तहमा छ हजार १३७ मतदाता थपिएका छन् । जसमध्ये सूर्योदय नगरपालिकामा दुई हजार ४७०, माई नगपालिकामा एक हजार ४९५, सन्दकपुर गाउँपालिकामा ८१९ , रोङ गाउँपालिकामा ७४१ र माईजोगमाई गाउँपालिकामा ६१२ जना मतदाता थप भएका छन् ।
मतदाताको संख्या थपिएसँगै प्रतिनिधिसभा सदस्य चुनावका लागि क्षेत्र नम्बर १ मा एक लाख एक हजार ६१ मतदाता छन् । जसमध्ये ४८ हजार ४७८ महिला र ५२ हजार ५८३ पुरुष मतदाता रहेका छन् ।

0 comments: