४० मुनिका ४० नेताः समृद्धि नेपाल निर्माणको शंखघोष


 - संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुनौलो भविश्य निर्माण गर्ने अभिभारा राष्ट्रका तमाम युवाहरुको हो। त्यसैले अबको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रको नेतृत्व युवाले नै गर्नुपर्छ।

हामी कस्तो राष्ट्र निर्माणको चिन्तन गर्दैछौं? हामी नेपाली समाजलाई कस्तो बनाउँदै छौं? यस्ता आमप्रश्नहरुको जवाफ दिन सक्ने युवाहरुलाई मुलुक निर्माणको नेतृत्व प्रदान गरेमात्रै नेपाल ‘युवा देश’ बन्न सक्छ। 
दक्षिण एशियाको सबैभन्दा धेरै सम्भावना बोकेको मुलुक हो, नेपाल। तर, हामी यस्तो परिवेशमा बाँचिरहेका छौँ, जुन कुरा स्वीकार्न र भन्न पनि लाज लाग्ने स्थिति छ। दक्षिण एशियामा दोस्राे गरीब मुलुकका रुपमा रहेको नेपाल अहिले बाढी–पहिरोको विपत्तिसँग जुधेर तंग्रिने प्रयासमा छ।
त्यही सप्तकोशी, गण्डकी र कर्णालीको भेलयुक्त पानी जस्तै धमिलो छ, नेपालको राजनीति। हरेक रातपछि मिरमिरे बिहानी आउँछ। कालो बादलको किनारामा चाँदीको घेरा हुन्छ।
हो, यही ‘चाँदीको घेरा’ पहिल्याउने अभियानमा शुभदिन मिडिया एण्ड रिसर्च सेन्टर जुटेको छ। रेफ्रीको भूमिकामा मध्यरेखामा बसेर हेर्दा नेपाली राजनीतिक खेलमा दुई कित्ता प्रष्ट देखिन्छ।
एकातर्फ केही गर्न नसक्ने र हामीले आशा मार्दा हुनेहरुको झुण्ड छ, अर्कोतिर मुलुकलाई समृद्ध बनाउन सक्ने साहस र जाँगर बोकेका युवाहरुको समूह छ। राजनीतिक क्षेत्रमा संलग्न भएर निरन्तर समाजको उन्नतिमा लागेका ४० वर्षमुनिका ४० नेताको खोजी हामीले गरिएका हाे। 
शुभदिनले छानेकाे ४० युवा नेताबाट कुनै किसिमकाे गलत कार्य नहुने, राजनीतिकाे खाेल अाेडेर समाजकाे अहित हुने काम नगर्ने, अग्रजसँग नडरार्इ मुलुक र जनताकाे हितका लागि काम गर्न, सत्यका लागि लड्ने, पार्टीकाे ह्वीपले गलत निर्णयलार्इ कार्यान्वयन गर्न लाचार नहुने, देखासेखीमा नलाग्ने र राष्ट्रप्रतिकाे मूल दायित्व पूरा गर्ने अपेक्षा गरेकाे छ।
त्यसैगरी, सबै एकजुट भएर देशका लागि समान एजेण्डा बनाएर अघि बढ्ने, सामान्य कुरामा समय बर्बाद नगर्ने, जनताका मुख्य मुद्दा, भ्रष्टाचार नियन्त्रण तथा राजनीतिक फाेहाेर हटाएर सभ्य समाज निर्माणकाे नेतृत्व याे युवा पुस्ताले गर्ने छ भन्ने शुभदिनकाे विश्वास छ।
शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले ‘युवा देश’को अवधारणाअनुसार नै ‘४० मुनिका ४० नेता’को खोजी गरेको हो। सिर्जनशील युवाको जमातबाट एक–एक गरी सुक्ष्म अध्ययन, अनुसन्धान र विश्लेषण गरेर नै ४० वर्षमुनिका ४० नेताको छनौट गरिएको छ।
शुभदिन मिडियाले राजनीतिक दलका प्रभावशाली नेताहरु र सामाजिक सेवाको क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वसँगको छलफलबाटै ४० युवा नेताको छनौट गरेको हो।
नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट मुलुकमा स्थापित संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक व्यवस्थालाई कार्यान्वयन गर्न उर्जावान युवाहरु नेतृत्वमा पुग्नुपर्छ।
र, यसका लागि दबाब सिर्जना गर्न पनि ४० वषमुनिका ४० जना नेतालाई आइडलका रुपमा ल्याइएको हो। अझै धेरै युवाहरुले नेपाली समाज रुपान्तरणका लागि काम गरिरहेका छन्। ती युवालाई पनि समेट्दै जाने शुभदिनको प्रतिवद्धता यही विशेष सम्पादकीयमार्फत जाहेर गर्न चाहान्छौं। 
शुभदिनले ४० वर्षमुनिका ४० जना नेताको छनौट गरेर युवा राजनीतिक अभियन्ताहरुलाई थप जिम्मेवारी दिन चाहेको हो। ‘४० मुनिका ४० नेता’हरुका कामको निरन्तर निगरानी गर्दै राष्ट्र निर्माणका लागि खबरदारी पनि शुभदिनले गरिरहने छ।
राजनीतिक संक्रमणलाई राष्ट्र निर्माणको अवसरमा बदल्नका लागि नै यो युवा टिमले  योगदान गर्न सक्नेमा शुभदिन मिडिया विश्वस्त छ। नेपालको पूर्वी सीमादेखि पश्चिमसम्म र हिमाल, पहाड, तराई, मधेशका सबै वर्ग, समुदायका युवाहरुलाई ‘४० मुनिका ४० नेता’मा समावेश गर्ने प्रयास पनि गरिएको छ।
by -https://suvadin.com/


सेयर गर्नुस्

0 comments: