![]() |
| शिल्पीमा ‘अनि देउराली रुन्छ’ को पूर्वाभ्यास गर्दै रंगकर्मीहरू । |
- पञ्चायतकालमै मनबहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ ले निकै लोकप्रियता कमाएको थियो । साढे चार दशकअघि पहिलोपटक भारतको दार्जिलिङमा मञ्चन भएको यो नाटक कालिम्पोङ हुँदै नेपाल आइपुगेको थियो । तिनताक दार्जिलिङकै रंगकर्मी आएर नेपालमा चारपटक मञ्चन गरेको ७० वर्षे नाटककार मुखिया सम्झन्छन् ।
‘उतिबेला मनोरञ्जनको साधन केही थिएन,’ मुखियाले भने, ‘नाटक हेर्ने दर्शक निकै हुन्थे ।’ अहिले यही नाटक रंगमञ्चका तन्नेरीहरूले फेरि मञ्चनको तयारी गरेका छन् । ३६ वर्षपछि आफ्नो नाटक नेपालमा पुन: मञ्चन हुन लागेकोमा उनी खुसी छन् । ‘युवा पुस्ताले नयाँ शैलीमा तयार पार्न लागेकाले उत्साहित छु,’ उनले भने ।
बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा यति बेला नाटकको तयारी चलिरहेको छ । रंगकर्मी जीवन बरालले नाटक निर्देशन गरेका हुन् । एक समयमा निकै नाम कमाएको नाटकलाई पुन: निर्देशन गर्दा चुनौती हुने उनले सुनाए । ‘दर्शकको अपेक्षा हाई हुने हुँदा धेरै मिहिनेतको जरुरी पर्छ,’ उनले भने । खास नाटकको थिमबाटै प्रभावित भएर नयाँ ढंगले मञ्चमा ल्याउन लागेको उनले बताए ।
निश्चित स्वार्थ पूरा गर्न व्यक्तिले खेल्ने जालखेलले समाजमा कस्तो असर पर्छ भन्ने विषयलाई नाटकले उठाएको छ । कहिल्यै पुरानो नहुने विषय भएकाले ‘अनि देउराली रुन्छ’ सदावहार नाटक भएको बरालको दाबी छ । यसअघि उनले तीन नाटक निर्देशन गरिसकेका छन् । यही जेठ १५ देखि नियमित मञ्चनमा आउन लागेको नाटकमा निरज सुवेदी, लुनिभा तुलाधर, चन्द्रप्रसाद पाण्डेय, जान्वी बोहरा, सुमन कुइँकेल, कोपिला ढकाल, पवित्रा खडकालगायतले अभिनय गर्नेछन् ।
यही शुक्रबारदेखि नै अनामनगरस्थित मण्डला थिएटरमा पनि नयाँ नाटक मञ्चन हुँदै छ । सुलक्षण भारतीको लेखनमा सिर्जना अधिकारीले निर्देशन गरेको ‘सलेदो’ अन्तरव्यक्ति मनोभावमा केन्द्रित रहेको छ । लेखनकै हिसाबले यो नाटक अरूभन्दा फरक रहेको भारतीको दाबी छ ।
उज्यालो अथ्र्याउने ‘सलेदो’ लाई अर्थपूर्ण रूपमा प्रयोग गरिएको निर्देशक अधिकारीले बताइन् । ‘नामअनुसार नाटकको रहस्य पनि उस्तै छ,’ उनले भनिन् । उक्त नाटकमा सुलक्षणसँगै अंकित खडका, केनिपा सिंह, इँगिहोपो कोइँच सुनुवार, अनुप न्यौपाने, मिलन कार्की, रोहित पौडेल, आर्यन खड्कालगायतले अभिनय गर्नेछन् ।
