के हो क्रिप्टोकरेन्सी ? कसरी हुन्छ माइनिङ ?

समुदाय केन्द्रितहुँदै गएपछि आवश्यकता पूर्ति गर्न मानिसले वस्तु विनिमय (कारोबार) को चलन सुरु गर्‍यो । तर, वस्तु विनिमय सजिलो थिएन । मानव समाज आधुनिकतातर्फ सोझिएपछि विनिमयको नयाँ माध्यमका रूपमा पैसाको आविष्कार गर्‍यो । वस्तु विनिमयभन्दा पैसाको माध्यमबाट गरिने विनिमय सजिलो भयो । र, अहिलेसम्म पनि विनिमयको माध्यम बनेको छ पैसा । मान्छेले पैसालाई पनि झन्झट मान्दै गएपछि चेक, कार्डहुँदै अहिले वालेट, क्यूआरलगायत धेरै प्रकारले पैसा भुक्तानी गर्न सकिन्छ । हाल विनिमयकै नयाँ प्रणाली क्रिप्टोकरेन्सी चर्चामा छ । क्रिप्टोकरेन्सी अर्थात् गोप्य मुद्रा बिट क्वाइन, रिप्पल, इथेरियमलगायत धेरै प्रकारका छन् । क्रिप्टोकरेन्सीकोे उत्पादन तथा कुनै पनि प्रकारको कारोबारलाई नेपालको कानुनले वर्जित गरेको छ । संसारभर नै यसको पक्ष र विपक्षमा तर्क वितर्क भइरहेका छन् । छिमेकी मुलुक भारतमा सन् २०२० देखि क्रिप्टोकरेन्सीमा लगानी गर्न पाइन्छ तर, पैसाको सट्टा भुक्तानी गर्न भने मिल्दैन । विभिन्न मुलुकमा यसका विभिन्न कानुन छन् । यसको फाइदा वा बेफाइदाभन्दा पहिले बुझौँ के हो त क्रिप्टो करेन्सी ? उदाहरणका लागि विपिनले सविनलाई १० रुपैयाँको काम लगायो । विपिनले १० रुपैयाँको सट्टा त्यति नै मूल्यको चकलेट दियो । त्यो चकलेट जहाँ पनि पठाउन सकियोस् भन्ने सोचेर उनीहरूले त्यो चकलेटलाई डिजिटल बनाइदिए । त्यो डिजिटल चकलेट नै क्रिप्टोकरेन्सी हो । डिजिटल कुरालाई कपी गरेर जति पनि बनाउन सकिने समस्यालाई हल गर्न त्यसको डिजिटल लेजर छ । त्यो लेजर सीमित मान्छेसँग मात्र हुँदा हिसाब गडबड हुन सक्छ । तर, त्यही लेजर लाखौँ कम्प्युटरमा कनेक्टेड हुुने भएकाले गडबडीको सम्भावना शून्य हुन्छ । धेरै लेजरमा हिसाब राखिएपछि कुनै एक जनाले गडबड गर्‍यो भने त्यो लेजरको हिसाब अरु लेजरसँग मिल्दैन र कारोबार हुँदैन । यसलाई पियर टु पियर नेटवर्क भनिन्छ । यसरी लाखौँ कम्प्युटरलाई व्यवस्थापन गर्ने भनेको ब्लक चेनले हो । ब्लक चेनले लेजरलाई लाखौँ कम्प्युटरसँग जोडेर व्यवस्थापन मिलाउने काम गर्छ ।जो व्यक्तिले ती पब्लिक लेजरलाई धानिराखेका छन्, उनीहरूलाई माइनर भनिन्छ । त्यस्तै, ट्रान्जेक्सनको प्रक्रियालाई माइनिङ भनिन्छ । क्रिप्टोकरेन्सी माइनिङ भनेको कुर्सीमा बसेर गरिने काम होइन, यो सिस्टमले आफैँ गर्छ । यसरी माइनिङ गर्दा कम्प्युटर, सफ्टवेयर, ऊर्जालगायत खर्च भएबापत माइनरले त्यही करेन्सीमा थोरै रिवार्ड पाउँछन् । त्यहीँबाट उनीहरूले क्रिप्टोकरेन्सी कमाउने हो । माइनिङका लागि विभिन्न कम्पनीले क्रिप्टो फार्म नै सञ्चालन गरेका छन्, जहाँ हजारौँ कम्प्युटरबाट माइनिङ हुन्छ ।यसरी संसारभर लाखौँ कम्प्युटरमा लेजर बस्दा गोपनीयताको प्रश्न उठ्न सक्छ । क्रिप्टोग्राफीले गोपनीयता भंग हुन दिँदैन । यो कम्प्युटर कोडेड हुने भएकाले कोसँग कति क्रिप्टोकरेन्सी छ भनेर पत्ता लगाउन सकिँदैन । व्यक्तिको पैसाको मूल्य बैंक, सरकार वा नियामक निकायको हातमा किन भन्ने अवधारणका कारण क्रिप्टोकरेन्सी सुरु भएको हो । यो करेन्सी विकेन्द्रिकृत हुने भएका कारण यसको मूल्य कुनै एक जनाको नियन्त्रणमा हुँदैन । यसको नियन्त्रण कुनै एक ठाउँबाट गर्न नमिल्ने भएकाले के आधारमा बढ्ने–घट्ने र मूल्य कसरी निर्धारण गर्ने भन्ने प्रश्न पनि उठ्ने गरेको छ । क्रिप्टोकरेन्सी कति उत्पादन हुन्छ भन्ने पहिल्यै निर्धारण हुन्छ । निश्चित परिमाणमा उत्पादन हुने भएकाले यसको मागअनुसार मूल्यनिर्धारण हुने हो । त्यस्तै, यसको मूल्य समाचार, कम्पनीहरूको प्लान र लगानीकर्ताको प्लानका आधारमा भर पर्छ । २०२१ को मार्चमा टेस्लाका सीईओ एलन मस्कले बिटक्वाइनबाट टेस्लाको गाडी खरिद गर्न सकिने घोषणा गरे । उनको त्यो घोषणासँगै बिटक्वाइनको मूल्य आकाशिएर ६० हजार डलर पुग्यो । त्यसको दुई महिनापछि उनले बिटक्वाइनले टेस्ला गाडी किन्न नपाउने घोषणा गरेपछि त्यसको मूल्य ३० हजार डलरमा झर्‍यो । क्रिप्टोकरेन्सीको राम्रो पक्षको कुरा गर्नुपर्दा यो विकेन्द्रिक्रित छ । कुनै एक सरकार, कुनै देश, कुनै शक्तिले यसलाई नियन्त्रणमा राख्न सक्दैन । त्यस्तै, सरकारको निर्णयका कारण व्यक्तिको पैसाको मूल्य घटबढ हुँदैन । सुरक्षाको दृष्टिकोणले ब्लक चेन टेक्नोलोजी प्रयोग भएका कारण समस्या पर्दैन । फाइदा मात्र होइन, यसमा बेफाइदा पनि छन् । बेफाइदाको कुरा गर्दा कुनै एक नियामकको नियन्त्रणमा नभएको हुनाले केही समस्या आयो भने कसले समाधान गर्ने भन्ने प्रश्न उब्जिन्छ । त्यसैगरी, अवैधानिक काममा क्रिप्टोको प्रयोग हुन सक्ने सम्भावना पनि धेरै छ । क्रिप्टो माइनिङ गर्दा धेरै शक्ति प्रयोग हुने हुँदा वातावरणमैत्री नहुने केहीको तर्क छ ।लापत्र बाट

सेयर गर्नुस्

0 comments: