सहकारीमा ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत ताेकियो

काठमाडौँ — बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुका लागि सन्दर्भ ब्याजदर तोकिएको छ । सहकारी विभागले शुक्रबार कर्जाको अधिकतम ब्याजदर १६ प्रतिशत हुनेगरी सन्दर्भ ब्याजदर तोकेको हो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष परितोष पौड्यालका अनुसार फागुन १५ गतेबाट लागूहुनेगरी यस्तो ब्याजदर तोकिएको हो ।यसअघि बचत तथा ऋणको कारोबार गर्ने सहकारीमा सन्दर्भ ब्याजदर १४.७५ प्रतिशत रहेको थियो । सहकारी ऐन २०७४ को दफा ५१ र सहकारी नियमावली २०७५ को दफा २३ ले सन्दर्भ ब्याजदरसम्बन्धी व्यवस्था गरेको छ । विभागले हरेक वर्ष सन्दर्भ ब्याजदरमा पुनरावलोकन गर्ने गरेको छ । ऋण र बचतको ब्याजदर अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ । अब यदि सहकारीले ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत लागू गरेमा उसले बचतमा दिने ब्याजदर १० प्रतिशतभन्दा कम हुनु हुँदैन ।तरलता अभावपछि बैंकहरुले फागुनदेखि लागू हुनेगरी ब्याजदर बढाएसँगै सहकारीहरुले सन्दर्भ ब्याजदर १८ प्रतिशत लागू गर्नुपर्ने माग गर्दै आएका थिए । वाणिज्य बैंकहरुले फागुनदेखि मुद्दती निक्षेपमै ११. ०३ प्रतिशत ब्याज दिने गरेका छन् । बैंकहरुले दिने ब्याजदर बढेपछि सहकारीलाई पनि बचतमा ब्याजदर बढाउनुपर्ने बाध्यता थियो । बचतमा ब्याज बढाएपछि स्वत: ऋणको ब्याज अधिकतम सीमामा खुकुलो पार्न सहकारीहरुले माग गर्दै आएका थिए ।

सेयर गर्नुस्

0 comments: