दमक नगरपालिकाले वितरण गरेको राहतमा बिभेद भएको गुनासो

 जारी लकडाउनको समयमा दैनिक ज्यालादारी गरेर जिवन निर्वाह गर्नेलाई झापाको दमक नगरपालिकाले बितरण गरेको राहतमा बिभेद भएको गुनासो आएको छ । नगरपालिकाले स्थापना गरेको विपत कोषबाट विपन्न वर्गलाई दशवटै वडामा धमाधम राहत बाँडिरहेको छ । तर नगरपालिकाले आप््mना कार्यकर्ता र आफन्तलाई मात्रै राहत बाँढेको गुनासो बाहिर आएको हो ।दमक वडा नम्बर १ मा टोल बिकास संस्थाले सिफारिस गरेका बिपन्नहरुको नाम कटौती गरेर केहिलाई मात्रै बाँड्न खोजेको भन्दै ३ वटा टोलबासीहरुले नगरपालिकाले दिएको राहत बहिष्कार गरेका छन् । टोल बिकास संस्थाले सिफारिस गरेका सवैलाई राहत दिए मात्रै आफुहरुले लिने भन्दै उनीहरुले राहत बहिष्कार गरेका हुन् ।
सोहि वडा निवासी कांग्रेस महाधिवेसन प्रतिनिधि घनेन्द्रराज योङयाले पनि राहत बितरण प्रक्रिया पारदर्शी नभएको आरोप लगाए । नगरपालिकाले एकद्वार प्रणालीबाट राहत बाँड्ने भनेकोले आफुहरुले पनि सबै नागरिकको अभिभावक नगरपालिका बन्नेछ भन्ने विश्वासले एकमुष्ट रकम नगरपालिकालाई बुझाएको उनले बताए । टोलले सिफारिस गरेका नामहरु कटौतिको कुनै आधारनै नभएको भन्दै उनले दिनेभए बिपन्न सबैलाई राहत दिन नभए आफुहरुलाई राहत बाँड् अनुमति दिन नगरपालिकासंग माग गरिएको वताए । नगरपालिकाले अनुमति दिए आफुहरुले कसैलाई पनि भोकै हुन नदिने दावी गरे ।
राहत वितरणका लागी बिपन्न परिवार छनौट गर्न वडामा समिति बनाईए पनि समितिसंग सल्लाहनै नगरी वडा अध्यक्षले आप्mना कार्यकर्ता परिचालन गरेर नाम छनौट गरी राहत वितरण गरेको दमक ४ का नेपाली कांग्रेस वडा छायाँ समिति संयोजक राजेन्द्र भट्टराईले आरोप लगाए । वडा भित्र रहेका १० वटा टोल बिकास संस्थासंग कुनै समन्वयनै नगरी बिपन्न भनेर आप्mना कार्यकर्तालाई मात्रै राहत बाँडेको भन्दै उनले वडा भित्रका वास्तविक बिपन्नहरु भोकै रहेको आरोप लगाए ।
उता दमक नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता अधिकारीले टोल बिकास संस्थाले सिफारिस गरेका नाम अनुसारनै राहत वितरण भईरहेको बताए । प्रारम्भिक चरणमा सिफारिस भएकाहरुलाई पुनः वडाको राहत वितरण समिति र टोल बिकास संस्थासंग छलफल गरेरनै नाम छनौट गरिएको उनले जिकीर गरिन् । उनले भनिन्, ‘राहतलाई लक्षित वर्गसम्म पुरयाँउने काम भएको छ ’
२७ जनाको नाम सिफारिसमा ५ जनाले मात्रै राहत पाए
उप प्रमुखले सो दाबी गरे पनि दमक ९ पूर्वेली टोलका अध्यक्ष उमानाथ न्यौपानेले भने आफुहरुले २७ जनाको नाम सिफारिस गरेर पठाएकोमा ५ जनाले मात्रै राहत पाएको बताए । २२ जना बिपन्नको नाम के आधारमा सूचिबाट काटियो आफुलाई थाहा नभएको उनले बताए । टोलका घर घरमा पुगेर उनीहरुको भण्डार र कोठा समेतको अनुगमन गरी बिपन्नहरुको नाम संकलन गरिएकोमा अहिले ५ जनाले मात्रै राहत पाएकोले आफु अप्mठ्यारोमा परेको उनले गुनासो गरे । २२ जनाका परिवार आएर ‘अस्ति नाम टिप्नु भएको थियो तर हामी राहत नपाएर भोकै बस्नु प¥यो’ भन्दै आप्mनो घरमा आउने गरेको उनले गुनासो गरे ।
बिभेद नगर्न कांग्रेसको माग
कांग्रेस नगर सभापति रोशन बिष्टले पनि धेरै वडाबाट राहत बितरण पारदर्शी नभएको भन्दै गुनासो आएको भन्दै यसमा पार्टीको ध्यानाकर्षण भएको बताए । हिँजो एउटा पार्टीबाट उम्मेद्वार बनेर चुनाव जितेको भए पनि अहिले जनप्रतिनिधिहरु सबैको अभिभावक भएको भन्दै यस्तो बिपदको बेला राहत बितरण गर्दा हिँजो आफुलाई भोट दिएको र अर्कोलाई भोट दिएको भनेर बिभेद नगर्न नगरपालिकालाई ध्यानाकर्षण गराईएको उनले बताएका छन् ।
नगर उपप्रमुख अधिकारीले नगरपालिकाले आज सबै वडामा राहत बितरण गरिसक्ने र बाँकी छुटेकालाई वडाले समन्वय गरी वितरण गर्ने बताइन् । कुनै नगरबासी पनि भोकै बस्ने अवस्था नआउने भन्दै उनले भनिन् , ‘राहत दिने कार्यको सम्पूर्ण अधिकार वडालाई दिईएकाले पनि पक्कै त्यस्तो विभेद कतै देखिएको छैन् ।
नगरका २२४६ घरधुरीलाई राहत
नगरपालिकाले नगरका २ हजार २ सय ४६ जना विपन्न घरधुरीलाई खाद्यान्न राहत दिएको जनाएको छ । नगरपालिकाले वडा अन्तर्गतको विभिन्न टोल विकास संस्थाको लगत संकलन गरि छनौट गरिएका ती समुदायलाई कार्यविधि अनुसार खाद्यान्न राहत दिईएको नगर प्रमुख रोमनाथ ओलीले वताए । गत शुक्रबारबाट नगरपालिकाले वडा वडामा त्यस्ता विपन्न परिवारलाई खाद्यान्न राहत बाँढ्न थालेको हो । ती राहत परिवार संख्याको आधारमा वितरण गरिएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को संक्रमण हुन नदिन नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोष गठन गरेको छ । त्यो कोषमा नगरपालिकाले रु ३० लाख जम्मा गरेको छ भने हालसम्म रु १ करोड बढी नगद तथा खाद्यान्न जिन्सी राहत प्राप्तभएको नगरपालिकाले जनाएको छ ।


सेयर गर्नुस्

0 comments: