कन्याममा २६ करोड लागतमा ‘टी टेस्टिङ सेण्टर’ बन्ने


रोहितचन्द्र भट्टराई
 

चियाको राजधानीको रूपमा रहेको इलामको सूर्योदय नगरपालिका वडा नम्बर ७ मा रहेको प्रसिद्ध पर्यटकीय स्थलको रुपमा चर्चित कन्याम चियाबगान क्षेत्रमा चिया परीक्षण केन्द्र (टी टेस्टिङ सेण्टर) खोल्न लागिएको छ । त्यहाँ प्रदेश सरकारसँगको साझेदारीमा सूर्योदय नगरपालिकाले परीक्षण केन्द्र खोल्न लागेको हो ।
सूर्योदय नगरपालिका नगर कार्यपालिकाको आज कात्तिक १ गते शुक्रबार बसेको बैठकले कन्याममा चिया परीक्षण केन्द्र खोल्नका लागि प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता वीरबहादुर लाप्चाले सन्दकपुर अनलाइनलाई बताएका छन् । उनका अनुसार कन्याममा चिया परीक्षण केन्द्र स्थापना गर्नका लागि चालु आर्थिक वर्षमै खर्च गर्नेगरि प्रदेश सरकारबाट पाँच करोड बिनियोजन भएको छ ।
उक्त बजेटको २० प्रतिशतले हुन आउने रकम अर्थात एक करोड रुपैयाँ सूर्योदय नगरपालिकाले खर्च गर्ने र साझेदारीमा चिया परीक्षण केन्द्र खोल्ने गरि निर्णय भएको उनको भनाई थियो । यसअघि सूर्योदय नगरपालिकाको प्रस्तावलाई प्रदेश सरकारले स्वीकार गरेर चिया परीक्षण केन्द्रको स्थापना गर्ने बाटो खुलेको हो । यसलाई चिया परीक्षण केन्द्र भन्दा पनि चिया अनुसन्धान केन्द्र नै बनाउने गरि नगरपालिकाले डिजाइन इस्टिमेट समेत तयार गरेर प्रदेश सरकारलाई प्रस्ताव गरेको थियो ।
नगरपालिकाले तयार गरेको डिजाइन इस्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम २६ करोडभन्दा बढी छ । देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवद्र्धन गर्न सकिने बताइएको छ । सूर्योदय नगरपालिकाभित्र ६३ वटा भन्दा बढी सानाठूला चिया प्रशोधन उद्योगहरु रहेका छन् । त्यसैले यस नगरपालिकालाई अर्थोडक्स चियाको राजधानीको रूपमा मानिँदै आएको छ ।
नगर कार्यपालिकाको आजकै बैठकले वडा नम्बर १० को फिक्कलस्थित फिक्कल माविमा नमुना भवन निर्माणका लागि प्रकृया थाल्ने पनि निर्णय गरेको पनि प्रवक्ता लाप्चाले सन्दकपुरलाई बताएका छन् । चालु आर्थिक वर्षमा शिक्षातर्पmको नमुना विद्यालय भौतिक निर्माण कार्यक्रमअन्तर्गत फिक्कल माविमा भवन निर्माण गर्न इबिडिङबाट बोलपत्र आह्वान गरिन लागेको हो । 

सेयर गर्नुस्

0 comments: