भारी वर्षाका कारण प्रदेश नम्बर १ को प्रदेशसभा भवन डुबानमा
परेको छ । वर्षाका कारण प्रदेशसभा भवन बाहेक विराटनगर महानगरपालिकाका
विभिन्न क्षेत्र डुबानमा परेका छन् । सामान्य वर्षामा पनि हज भरिएर बैठक
कक्षभित्रको शौचालयबाट पानी निस्कने गरेको संसद् सचिवालयका सचिव गोपाल
पराजुलीले जानकारी दिए । वर्षाका कारण कोसी अञ्चल अस्पताल परिसर ताल बनेको छ । ढलको निकास नगरी सडक
उच्च बनाइएका कारण अस्पताल परिसर जलमग्न बनेको हो । नालाको पानी अस्पताल
परिसरमा रहेको औषधि पसल, प्रशासनिक भवनमा पसेपछि समस्या भएको थियो ।
पानीको
निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको
छोराको उपचार गराउन आएकी पवित्रा ऋषिदेवले बताइन् । पानी जमेका कारण
अस्पतालमा रहेका बिरामीका कुरुवा र आफन्तहरूलाई ओहरदोहोरमा समस्या भएको छ ।
ढलको निकास नभएका कारण सडकको पानी अस्पताल पसेका कारण
बिरामीका साथसाथै चिकित्सक र अन्य कर्मचारीहरुलाई समेत समस्या भएको कोसी
अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलले बताए ।
दुई
दिनदेखि जमेको पानी नसुकेपछि सुरक्षाकर्मीहरुले पम्प लगाएर पानी फ्याकेका
छन् । सशस्त्र प्रहरी बल ३ नम्बर गण कंकालिनी मोरङका सई केदार कटुवालको
नेतृत्वमा आएको प्रहरी टोलीले कोसी अञ्चल अस्पताल परिसरमा जमेको पानी
पम्पसिटबाट निकाल्न सुरु गरेको हो ।
लगातारको वर्षा र
अस्पतालभित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मिक कक्षभित्र पनि पानी
पस्न सक्ने खतरा बढेपछि पम्पसिटको माध्यमबाट पानी बाहिर फाल्न सुरु गरेको
अस्पतालका मेसु डाक्टर पोखरेलले बताए ।
प्रदेशसभा
भवनअघि र हस्पिटल चौकमा पानी जमेपछि विराटनगर महानगरपालिकाकी उपप्रमुख
इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, इन्जिनियर घनश्याम
काफ्ले सहितको टोलीले अनुगमन गरेको छ ।
कोसी
अञ्चल अस्पताल र आसपासका क्षेत्रमा जमेको पानीको निकासका लागि देवकोटा
चोकमा स्काभेटर लगाएर कल्भटबाट पानी पास गराइएको छ । यसबाट हस्पिटल चोक
देखिको पानी निकास हुने उपप्रमुख इन्दीरा कार्कीले बताइन् ।

0 comments: