वर्षायामको
प्रारम्भसँगै देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्
आउने सम्भावना हुने हुँदा नेपाल टेलिकमले पूर्वजानकारी दिनेछ ।
विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न
नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्व जानकारी सम्प्रेषित गर्नका
लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले जल तथा मौसम विज्ञान
विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका वासिन्दाहरुलाई
मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको
छ ।
हालै जल तथा मौसम विज्ञान विभागले यो
साताको अन्त्यसँगै मुलुकभरका प्रायः नदीको बहाव उच्च हुने भएकाले तटीय
क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएको छ । पहाडमा पानी परेमा पहिरो जान
सक्ने र तराई डुबानमा पर्न सक्ने कुरालाई मध्यनजर गरी यस सम्बन्धी
पूर्वजानकारी उपलब्ध गराइन्छ ।
नेपाल टेलिकम र जल तथा मौसम विज्ञान
विभागबीचको सहकार्यमा जल तथा मौसमजन्य सम्भावित विपद् सम्बन्धी पूर्वसूचना
उपलब्ध गराउन मोबाइलमार्फत एसएमएस प्रवाह गर्ने गरिएको छ । यस अनुसार
महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, वागमती, कोशी नदी
क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व
सूचना सम्प्रेषणको व्यवस्था मिलाइएको छ ।
यसका लागि नेपाल टेलिकमले सम्भावित विपद्
क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको विवरण मौसम विज्ञान विभागलाई उपलब्ध
गराइरहेको छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व
प्रभावित क्षेत्रका वासिन्दाले प्राप्त गर्न सक्नेगरी समूहगत सन्देश मार्फत
आवश्यक जानकारी पठाउने गर्दछ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले
निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ ।
विपद्को पूर्वजानकारीले क्षति न्यूनीकरण
गर्न सकिने तथा मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकोले कम्पनी र जल
तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । प्राकृतिक विपद्बाट
सकेसम्म कम क्षति हुने वातावरण निर्माण गर्नुलाई दुवै संस्थाले दायित्वका
रुपमा लिएका छन् ।
अहिले राष्ट्रव्यापी मनसुन शुरुवातको मौसम
भएकाले खासगरी बाढी÷पहिरोका कारण धेरै नेपाली प्रभावित हुने सम्भावनालाई
दृष्टिगत गरी क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्मरणीय छ, नेपाल टेलिकमले २०७२ सालको विनाशकारी भूकम्प पश्चात नेपाल
रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्व सूचना
संप्रेषण गर्ने कार्यमा भूमिका निर्वाह गर्दै आएको छ ।
0 comments: