छिमेकीको गोरु कुट्नेलाई पक्राउ गरेर कारबाही

मोरङको उर्लाबारी नगरपालिका–१ बाट प्रहरीले छिमेकीको गोरु कुटेको घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय प्रेम लिम्बूलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । गाई, गोरु काटेको घटनामा संलग्नलाई पक्राउ गरेर कारबाही गर्ने गरिए पनि गोरु कुटेको घटनामा संलग्नलाई पक्राउ गरिएको यो पहिलो घटना हो । लिम्बूले उर्लाबारी नगरपालिका–१ का ४७ वर्षीय रमेश कार्की ढोलीले मावा खोलाको डिलमा बाँधेको कालो रंगको गोरु कुटेको इलाका प्रहरी कार्यालय उलबारीका इन्सपेक्टर रामप्रसाद तिमल्सिनाले बताए । उनका अनुसार कोदालो (फरुवा) ले कुटेर गोरुलाई अंगभंग बनाइएको छ ।
आफ्नो गोरु कुटेको भन्दै ढोलीले दिएको उजुरीका आधारमा लिम्बूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कुटपिटबाट गोरुको दायाँ खुट्टा भाँचिएको र शरीरका विभिन्न भागमा चोट लागेको इन्सपेक्टर तिमल्सिनाले बताए । पुरानो रिसईवीका आधारमा लिम्बूले ढोलीको गोरु कुटेको खुलेको छ । घटनामा संलग्न लिम्बूलाई पक्राउ गरेर आइतबार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को दफा २८९ को उपदफा (१) बमोजिम कसुरमा मुद्दा चलाउन जिल्ला अदालत मोरङबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ । पशु चौपायलाई कुटपिट गरेर अंगभंग बनाएको ठहर भएमा ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । प्रहरीले गोरु कुट्दा पशु अधिकार उल्लंघन समेत भएको जनाएको छ ।
गोरु कुटेको केही बेरमै शुक्रबार साँझ ७ बजे लिम्बूले उर्लाबारी–१ कै २८ वर्षीय रन्जना मोतेलाई गाली गलौज र लछारपछार परेर अभद्र व्यवहार समेत गरेको प्रहरीले जनाएको छ । त्यस घटनामा पनि लिम्बू विरुद्ध नैतिकता विरुद्धको कसुर (अभद्र व्यवहार) मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रनि तिमल्सिनाले जनाए ।

सेयर गर्नुस्

0 comments: