एमालेबाट वीरगन्ज महानगरपालिका मेयरका लागि उम्मेदवारी दिएका मो. बसरुद्दिन अन्सारी वीरगन्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् । महानगरपालिकालाई कर तिर्ने विषयमा विवाद चलिरहँदा अन्सारीले हालै निर्देशक पदबाट राजीनामा गरेका छन् । अन्सारी एमालेमा नवप्रवेशी हुन् । एमालेबाट मेयरको टिकट पाउने आश्वासनमा गत जेठ अन्तिम साता उनी एमाले प्रवेश गरेका थिए ।
दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादीबाट पर्सा क्षेत्र नम्बर दुईबाट चुनाव लडेका अन्सारी राजनीतिक गतिविधिमा संलग्न रहे पनि उनको पृष्ठभूमि राजनीतिक हैन । मधेस आन्दोलनका क्रममा एमालेलाई लक्षित गरी मधेस केन्द्रित दलले छरेको भ्रम चिर्दै अन्सारीले नेताकार्यकर्ता लिएर आक्रामक प्रसार थालेका छन् । पर्साको निर्वाचन क्षेत्र नम्बर १ र २ मिलेर घोषणा भएको वीरगन्ज महानगरपालिकामा झन्डै २० हजार मुस्लिम मतदाता छन् ।
दोस्रो संविधानसभामा क्षेत्र नम्बर २ मा विजयी भएको एमालेको क्षेत्र नम्बर एकमा जमानत जफत भएको थियो । प्रदेश २ को एक मात्र महानगरपालिका जित्नका लागि एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतम, वरिष्ठ नेता माधव नेपाल, शंकर पोखरेललगायत नेता अन्सारीको घरदैलो अभियानमा सहभागी भइसकेका छन् । संघीय समाजवादी फोरम नेपालले वीरगन्जका चर्चित व्यापारी विजय सरावगीलाई मेयरको चुनावी रणभूमिमा उतारेको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सरावगी ट्रेडिङ र वित्तीय संस्थाका सञ्चालक हुन् । ५ महिनाअघि पार्टी अध्यक्ष उपेन्द्र यादवको हातबाट टीका र माला लगाएर फोरम प्रवेश गरेका सरावगी उद्योग वाणिज्य संघका केन्द्रीय सदस्यसमेत भइसकेका छन् । मधेस आन्दोलनमा सहभागी नभए पनि जिल्ला अध्यक्ष प्रदीप यादव र कार्यकर्ताको बलियो साथ पाएका सरावगी मधेसको माग र अधिकारका लागि संघर्षरत पार्टीको ‘लिगेसी’ र व्यापारिक छवि देखाएर आफ्नो पक्षमा माहोल बनाउने रणनीतिमा छन् ।
उम्मेदवारी मनोनयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादव सरावगीसँगै वीरगन्ज नगरपरिक्रमा गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । पछिल्लो मधेस आन्दोलन र नाकाबन्दीका क्रममा केन्द्रबिन्दु रहेको वीरगन्जमा जसरी पनि जित हासिल गर्ने अभियानमा फोरम लागेको छ । सत्तारूढ दल कांग्रेस स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणमा दोस्रो स्थानमा आएपछि प्रदेश २ मा अत्यधिक सिट जितेर पहिलो हुने रणनीतिमा छ । वीरगन्ज महानगरको मेयरका लागि प्रभावशाली उम्मेदवार मानिएका जिल्ला सभापति तथा पूर्वसभासद अजय द्विवेदीले मनोनयन दर्ता गराएका छन् ।
०४९ सालमा उपमेयर भएका द्विवेदी पहिलो संविधानसभाको निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचत भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा त्यही क्षेत्रमा एमालेसँग पराजित भएका द्विवेदी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा उदाएका हुन् । अन्य राजनीतक दलले द्विवेदीलाई नै प्रमुख प्रतिद्वन्द्वीका रूपमा लिएका छन् । सुक्खा बन्दरगाह–परवानीपुर सडकखण्डको दायाँबायाँ द्विवेदीको पुख्र्यौली जग्गा परेकाले राम्रै पैसावाला मानिन्छन् । यसका अलावा आफू निकटका उद्यागी/व्यापारीको संरक्षणमा कुनै कसर बाँकी नराख्ने भएकाले कुनै पनि चुनावमा उनलाई आर्थिक संकट पर्दैन ।
गत वैशाखमा ६ वटा मधेस केन्द्रित दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) लाई मनोनयन दर्ता गर्ने एक दिन अगाडि वीरगन्जमा ठूलो झटका लागेको छ । स्थानीय निर्वाचनको चर्चा भएदेखि नै मेयरमा विमल श्रीवास्तव र राजेशमान सिंहले दाबी गर्दै आएका थिए । तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका श्रीवास्तव र राष्ट्रिय मधेस समाजवादी पार्टीका सिंह एकताका राजनीतिमा एकअर्काका सहयोगी थिए । पार्टी एकीकरणपछि एकले अर्कालाई सघाउने विश्वास कार्यकर्ताले गरेका थिए । तर टिकट नपाएपछि मंगलबार साँझ फोरम लोकतान्त्रिकमा प्रवेश गरी श्रीवास्तवले बुधबार मेयरका लागि उम्मेदवारी दिएका छन् ।
राजेशमान राजपाबाट मेयर लडिरहेका छन् । शाहीकालको स्थानीय निकायको चुनावसँगै ४ पटक वीरगन्जको मेयर भइसकेका श्रीवास्तव राजनीतिमा आधारभूत तहबाट आएका राजनीतिका पुराना खेलाडी मानिन्छन् । सिंह पछिल्लो मधेस आन्दोलनमा सक्रिय सहभागी थिए । ०५४ को स्थानीय निकायको चुनावमा वीरगन्जको ३ नम्बर वडा सदस्य जितेका सिंह ०५७ मा नगरपारिषदको अध्यक्षमा स्वतन्त्र समूहबाट विजयी भएका थिए । ०५७ देखि संविधानसभाको पहिलो निर्वाचनसम्म श्रीवास्तवको सहयोगीका रूपमा रहेका सिंह दोस्रो संविधानसभामा प्रतिद्वन्द्वी भएर देखा परे । सिंह र श्रीवास्तबीच मत बाँडिँदा कांग्रेसका राजेन्द्र अमात्यले जितेका थिए । दुवै ठेक्कापट्टा र व्यापारमा संलग्न रहँदै आएका छन् ।
अर्को सत्तारूढ दल माओवादी केन्द्रले आर्थिक तथा व्यापारिक नगरीको मेयरमा युवा उम्मेदवार रहबर अन्सारीलाई अगाडि सारेको छ । विदेशमा अध्ययन गरेका ३१ वर्षीय अन्सारी वीरगन्जको गण्डक अस्पतालका निर्देशक हुन् । हंगेरीको बुडापेस्टमा रहेको सेन्ट्रल युरोपियन युनिभर्सिटीबाट सार्वजनिक नीति र शासन प्रणालीमा स्नातकोत्तर गरेका अन्सारी माओवादीका जिल्ला सदस्य र माओवादीनिकट मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य पनि हुन् । निर्वाचन प्रचारका लागि उनले युट्युबमा अपलोड गरेको भिडियोले बढी चर्चा बटुलेको छ ।
– कान्तिपुर
– कान्तिपुर

0 comments: