महमाईलाई माङ्सेबुङ समेटन माग


 गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्मारण आयोगमा इलामको स्थानीय तह पुनर्सरचना प्राविधिक सहयोग समितिले बुझाएको गाउँ पालिकाको संख्या तथा सिमाना निर्धारणसम्बन्धी सिफारिसमा महमाईका बासिन्दाले असहमति जनाएका छन् । समितिलेनिर्धारण गरेको संरचनाअनुसार क्लष्टर नम्बर ३ मा माई नगरपालिका नाम दिएर महमाई, दानाबारी र चिसापानी गाविस तथा लक्ष्मीपुरको वडा नम्बर ५लाई छुट्याइएको छ । यो क्लष्टरमा महमाईलाई सामेल गर्न भौगोलिक, साँस्कृतिक, आर्थिक, सामाजिक कुनै पनि हिसाबले नमिल्ने महमाईबासीको धारणा छ ।

महमाईका बासिन्दाको तर्पmबाट नेपाली काङ्ग्रेस, एमाले, माओवादी केन्द्र र लिम्बूवान पार्टीका प्रतिनिधीहरुले इलाम सदरमुकाममा शुक्रबार सम्पन्न गरेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ– महमाईको १ देखि ९ वडासम्म नै सिमानाको रुपमा बग्ने माईखोलाका कारण हिउँद याममा दानाबारीसँग केही सहजता जस्तो भएपनि बर्षायाम पुरै विच्छेद भैmँ हुन्छ । यस्तो भौगोलिक विकटता एवम् असमानतालाई किन देखिँदैन ? विज्ञप्तिमा महमाईलाई माङ्सेबुङ गाउँपालिकामा समाहित गर्नुपर्ने माग राखिएको छ । पत्रकार सम्मेलनमा उपस्थित काङ्ग्रेस वडा सभापति हर्कवीर योङ्हाङ, एमाले गाउँ अध्यक्ष जयकुमार केरुङ, माओवादी केन्द्र गाउँ सदस्य वीरबहादुर लिङ्देन र लिम्बुवान गाउँ अध्यक्ष धनमान नेम्बाङले माङ्सेबुङसँगै सबै कुरा मिल्ने भएकाले महमाईलाई माङ्सेबुङमै गाभ्नुपर्ने बताए । 
उनीहरुले बीचमा नदीनाला नपर्ने, धार्मिक सहिष्णुता मिल्ने, आर्थिक हिसाबले पनि सबैकुरा मिल्ने भएकाले महमाई माङ्सेबुङसँग मिलाउन यसअघि राजनीतिक दल, गाविसको सर्बदलीय बैठक तथा गाउँबासीको हस्ताक्षर संकलन गरि मन्त्रालय, सांसद, पूर्व सभामुखदेखि जिल्लातह र केन्द्रीय तहसम्म माग राखिएको पनि बताए । सम्मेलनमा महमाई ६ का नन्दकुमार नेम्बाङले महमाईबासीको यो माग पुरा नभए आन्दोलनमा जाने बताए । पत्रकारसम्मेलनका क्रममा उनीहरुले गाविसबासिको चारहजार बराबर हस्ताक्षर, विभिन्न निकाय र ब्यक्तित्वलाई गरिएको पत्राचारको प्रतिलिपी पत्रकार महासंघ इलाम शाखा अध्यक्ष रोहितचन्द्र भट्टराईलाई बुझाएका थिए ।
समितिले यसअघि आयोगमा बुझाएको संरचनाको क्लष्टर नम्बर २ मा बाँझो, इभाङ र गजुरमुखी गाविसलाई मिलाएर माङ्सेबुङ गाउँपालिका निर्धारण गरेको छ । यसअघि एउटै इलाका रहेका साकफारा, चुलाचुली, बाँझो, इभाङ र महमाईमध्ये साकफारा र चुलाचुली गाविसलाई छुट्टै फाल्गुनन्द गाउँपालिका नाम दिएर सिफारिस गरिएको छ । समितिका संयोजक तथा इलामबाट हालसालै सरुवा भएर गएका स्थानीय विकास अधिकारी मदन कोइरालाका अनुसार आयोगमा सिफारिस गरिसकिएको छ भने अब एकपटक आयोगले पुनः समितिलाई राय मागेपछि मात्र पुनर्संरचनाको अन्तिम खाका जान्छ ।
.

सेयर गर्नुस्